पछिल्लो कारोबारको आधारमा नेप्से इन्डेक्स २७.५४ अंकले बृद्धि भई हाल २०९२ अंकमा रहेको छ । सोमबारको कारोबारमा पनि बैंकिङ इन्डेक्समा अन्य इन्डेक्सको दाँजोमा उच्च अंकले बृद्धि हुन पुगेको छ । समूहगत रुपमा कुरा गर्नुपर्दा बैंकिङ समूह, विकास बैंक समूह, होटल एण्ड टूरिज्जम समूह, हाइड्रोपावर समूह, इन्भेष्टमेन्ट समूह, म्यूचुअल फण्ड समूह, ट्रेडिङ समूह र अन्य समूहमा बृद्धि भयो भने बाकीं समूहमा गिरावट आएको थियो । कारोबार रकममा पनि बृद्धि हुदैं ५ अर्ब ८५ करोड रुपैंया भन्दा बढीको कारोबार हुन पुग्यो । दुइवटा लघुवित्त र दुइवटा हाइड्रोपावर कम्पनीमा सकारात्मक सर्किट लाग्यो भने अन्य कतिपय कम्पनीमा पनि राम्रै बृद्धि हुन पुग्यो । तेस्रो त्रैमासिक मौद्रिक नीतिको समीक्षामा बैंकहरुलाई केहि सहुलियत प्रदान गरेको कारण आगामी रिपोर्टमा बैंकले राम्रो गर्न सक्ने आँकलन गरिएकोले नै बैंकिङ समूहमा निरन्तर बृद्धि भइरहेको छ ।

सरोकार निकायबाट बजेट मार्फत शेयर बजारलाई सम्बोधन गर्न दिइएको सुझाबः
धितोपत्र बोर्ड, नेप्से र सीडीएसले बजेट मार्फत पुँजी बजार सुधारको लागि विभिन्न सुझाबहरु उपलब्ध गराएका छन् । हाल बजेट लेखन भइरहेको अर्थ मन्त्रालय सम्वद्ध निकायबाट जानकारी प्राप्त भएको छ । विगतमा पनि सरोकार निकाय लगायत लगानीकर्ताहरुको तर्फबाट पनि विभिन्न सुझाबहरु उपलब्ध गराइदैं आएको अवस्था छ तर कार्यान्वयनमा भने त्यति धेरै चासो दिएको पाइदैंन ।
यस आ.ब को बजेट मार्फत सम्बोधन होस् भनेर धितोपत्र बोर्डले आफ्नै कार्यालय भवन बनाउन जग्गाको व्यवस्थाको माग सहित पुँजी बजार प्रतिष्ठान स्थापना गर्न पनि सुझाब दिएको छ । त्यस बाहेक बुक विल्डिङ प्रणालीलाई थप पारदर्शी बनाएर रियल सेक्टरका कम्पनीहरुलाई पुँजी बजारमा भित्राउन, धितोपत्र बोर्डको आयमा लागेको करलाई हटाउन र नीजि क्षेत्रसँग प्रतिस्पर्धी बनाउने गरी नेपाल स्टक एक्सचेन्ज र सीडीएससीलाई पुनर्सरचना गर्न पनि सुझाब दिएको छ ।
उता सीडीएससीले करमा नीतिगत स्थिरता कायम गर्न, विगतमा गाभ्ने गाभिने तथा प्राप्ति प्रक्रियापछि सेयर कारोबारमा सेयरधनीलाई दिइएको छुट कायम गर्न र पुँजीगत लाभकर नै अन्तिम कर कायम गर्न सुझाब दिइएको बताइएको छ ।
त्यसैगरी नेप्सेले पनि नेप्से स्वयंको पुनर्सरचना गर्न सुझाब दिइएको जनाइएको छ ।

आगामी बजेटमा शेयर बजारको प्राथमिकताः
बर्तमान अर्थमन्त्री बर्षमान पुनले आगामी बजेटमा शेयर बजारलाई संबोधन गर्ने संकेत दिएका छन् । हुन त अर्थमन्त्रीमा बर्षमान पुनको आगमनसँगै शेयर बजारको समस्या समाधानमा सकारात्मक संदेश दिन शेयर बजारका समस्या र समाधानको उपायका सम्वन्धमा सरोकार निकायसँग तत्काल प्रतिवेदन माग गरेका थिए । प्रतिवेदन बुझाएको लामै समय भैसक्दा पनि अहिलेसम्म यस सम्वन्धमा कुनै प्रतिकृया प्राप्त भएको छैन । पछिल्लो समयमा शेयर बजारको विषयमा राष्ट्र बैंकसँग पनि समन्वय र छलफल गरी आगामी बजेटमा शेयर बजारलाई सम्बोधन गर्ने अभिव्यक्ति आउनुले लगानीकर्ताहरुमा थोरै भए पनि आशाको किरण जागेको छ ।

यस भन्दा अघि अर्थ मन्त्रीमा बजारमैत्री नीतिको पक्षमा ठानिएका बिष्णु पौडेल आउन सक्ने आँकलन गरिएको थियो र अर्थमन्त्रीमा उनी नियुक्ति नहुने अभिव्यक्ति आएपछि नेप्सेमा ७० अंक भन्दा बढीको गिरावट आएर नेप्सेले नकारात्मक संदेश दिएको थियो तर लगत्तै अर्थमन्त्री पुनले शेयर बजारको सम्वन्धमा सकारात्मक अभिव्यक्ति दिएपछि केहि दिन लगातार नेप्सेमा बृद्धि भएको थियो ।
आगामी बजेटमा अर्थमन्त्री पुनले शेयर बजारलाई सम्बोधन गरी राष्ट्र बैंकसँगको समन्वयमा हाल कायम शेयर धितो कर्जामा लाग्दै आएको सिमा फुकुवा गर्न, पुँजीगत लाभकरमा कटौती गर्न, हालको पुँजीगत लाभकरलाई अन्तिम करको रुपमा व्याख्या गर्न र जोखिमभारलाई १०० प्रतिशतमा झार्न सफल भएमा निश्चय नै शेयर बजारले नयाँ फड्को मार्ने कुरामा सबै लगानीकर्तामा एकमत रहेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *