सरकार परिवर्तनका लागि दुइ ठूला दलमा भएको सहमति र त्यसपछि दिनभर भएका अन्य गतिविधिसगैं नेपाली शेयर बजारमा मंगलबार ठूलो तरंग पैदा हुन पुग्यो । विहानसम्मको विभिन्न संचार माध्यममा भएको संप्रेषण तथा अनलाइन खबरको असर मंगलबार बजार खुलेको १ मिनेट २३ सेकेण्डमा नै नेप्से ४ प्रतिशत बढेर पहिलो कारोबार सत्र नै २० मिनेटका लागि बन्द हुन पुग्यो । त्यसपछि पुनः बजार खुलेको १६ सेकेण्डमै दोस्रो पल्ट ४० मिनेटका लागि बजार बन्द भयो ।

त्यस विचमा विभिन्न समाचारहरु अनलाईन मिडियाले प्रकाशन गर्न थाले । पुष्पकमल दाहालले तत्काल राजीनामा नदिने, संसदमा विश्वासको मतको सामना गर्ने जस्ता समाचारले लगानीकर्ताहरुमा मनोबैज्ञानिक असर पुग्न गई बजार एक्कासी घट्न थाल्यो । तर विस्तारै बजार सम्हालिंदै अन्तमा ४७.०४ अंकको बृद्धिसगैं नेप्से २१००.४३ अंकमा बन्द भयो । मंगलबारको कारोबारमा जम्मा ४ अर्ब ५७ करोड, ६८ लाख ३१ हजार रुपैंया बराबरको कारोबार भएको छ ।

हुनत सोमबार नै लगानीकर्ताहरुले विभिन्न समाचारको माध्यमबाट राजनीतिक परिवर्तन हुनसक्ने अपुष्ट संकेत प्राप्त गरिसकेका कारण कतिपय लगानीकर्ताहरुले बजारबाट शेयर उठाउन सुरु गरिसकेका थिए जसको कारण सोमबार नै नेप्सेमा दोहोरो अंकको बृद्धि भएको थियो । रातभर भएको नाटकीय सुधार र सहमतिको खबर बाहिर आएपछि भने शेयर बजारमा बजार खुल्ने वित्तिकै प्रभाव परेको थियो ।

प्राप्त पछिल्लो समझदारीको खबर अनुसार नेकपा एमाले र काग्रेंसको सरकार बन्ने निश्चित भए पनि प्रधानमन्त्री प्रचण्डले तत्काल राजिनामा नदिने र विश्वासको मतको सामना गर्ने खबरले अझै केहि दिन यहि सरकार रहन सक्ने संकेत देखिएको छ ।
खासगरी नेपाली राजनीतिमा दुई ठूला दलहरु मिलेर सरकार बनाउने कुराले अर्थतन्त्रमा नयाँ टुइष्ट आउन सक्ने र आगामी दिनमा स्थिर सरकार बनेर अस्थिर राजनीतिको समाप्तिसगैं अर्थतन्त्रको सुधार हुने अपेक्षामा लगानीकर्ताहरुमा आशा जगाएको छ जसका कारण आजको शेयर बजारमा उच्च अंकको बृद्धि हुन पुग्यो । शेयर बजारमा अहिले सबैकुरा सकारात्मक हुँदाहुंदै पनि बजार बढ्न नसकिरहेको र लगानीकर्ताहरुको मनोबल उच्च हुन नसकिरहेको बेलामा यस प्रकारको स्थिर सरकारको संभावनाले बजार अब बढेर जाने कुरामा सबै लगानीकर्ताहरु एकमत भएको पाइन्छ ।

प्रचण्ड सरकारको सुरुवातीसगैं जुन किसिमका प्रतिबद्धताहरु सरकार र अर्थमन्त्रीले व्यक्त गरेका थिए तर यतिका दिन बित्दा समेत शेयर बजार सम्बोधन र रणनीतिक परिवर्तनको छनक नपाएपछि लगानीकर्ताहरु निरास थिए । सरकार परिवर्तनसगैं न त निजी क्षेत्रको विस्वास जित्न सक्यो न त लगानी आकर्षित । न त ठोस नीतिगत परिवर्तन नै आयो न त भएका नीति नियमको प्रभावकारी कार्यान्वयन ।

अब बन्ने सरकारले गम्भीर ढंगले शेयर बजार सुधार र तत्काल गर्नुपर्ने कार्यहरुको थालनी गरेमा शेयर बजार निक्कै माथि जानसक्ने आँकलन गरिएको छ । लगानीकर्ताहरुले जुन आत्मविस्वासका साथ आजको बजारलाई सकारात्मक रुपमा लिए, भोलि उप्रान्त कुनै विपरित परिस्थिति सृजना भएन भने बजार अझै केहि समयसम्म निरन्तर बढ्दै जाने अपेक्षा गरिएको छ ।
आर्थिक वर्षको झण्डै अन्ततिर आइपुग्दा समेत बजार सुस्त गतिमा रहेको थियो । बैंकमा निरन्तर तरलता बृद्धि भैरहेको थियो । ब्याजदर विगतका केहि महिनादेखि घटि नै रहेको थियो । तर पनि वियरिस चक्रमा घुमिरहेको बजारमा एक्कासी रोैनक आउनुको पछाडि अहिले बन्न लागेको नयाँ गठबन्धन र खासगरी एमाले सरकारबाट अर्थमन्त्रीमा विष्णु प्रसाद पौडेलको आगमन हुने कुरामा लगानीकर्ताहरुको विस्वास रहेको बुझिन्छ । शेयर बजार मनोविज्ञानमा चल्ने र जसको पालामा बजार बढेको थियो तिनै पार्टीको सरकार र अर्थमन्त्री प्रति बजारले भरोसा राख्ने गर्दछ ।

शेयर बजारमा अहिले जुन किसिमको अन्योल छ त्यसलाई आउने सरकारले तत्काल चिर्न जरुरी छ । नेपाली शेयर बजारको अस्थिर नीति, केन्द्रीय बैंकको एकाकीं मौद्रिक नीति, सेयर कर्जाको सीमा र क्याप, असल कर्जाको जोखिम व्यवस्था लगायतका शेयर बजारसँग सम्वन्धित सबै कारक तत्वहरुलाई तत्काल सम्बोधन र संशोधनको नीति लागू गर्न सके शेयर बजारले नयाँ उचाइ लिने कुरामा सन्देह रहँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *