पछिल्लो केहि दिनदेखि साइडवेजमा चलिरहेको नेप्से यस हप्ताको पहिलो कारोबार दिन आइतबार पनि ४.५९ अंकले घटेर २०७३.१९ अंकमा बन्द भएको छ । १३ वटा सूचकहरुमद्दे होटेल समूहमा सबैभन्दा बढी बृद्धि भएको आजको कारोबारमा ५ वटा समूहका सूचक सकारात्मक बनेको छ । यस दिन कारोबार रकममा बृद्धि भई ५ अर्ब १८ करोड रुपैंयाभन्दा बढीको कारोबार हुन पुगेको छ । कारोबार भएका ३१३ वटा कम्पनीहरुमद्दे १४७ वटा कम्पनीहरुको मूल्य घटेको छ भने ४७ वटा कम्पनीको मूल्य बढेको छ । ३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

एकातिर नेप्से साइडवेजमा चलिरहँदा नेपाल राष्ट्र बैंकले भने आगामी मौद्रिक नीतिको लागि यहि असार १६ गते भित्र राय सुझाव दिन सरोकार सबैलाई अनुरोध गरेको छ । पछिल्लो समयमा नेपाल राष्ट्र बैंकका गभर्नरले आगामी मौद्रिक नीति लचिलो आउने भन्ने संकेत गर्दैगर्दा लगानीकर्ताहरु भने पर्ख र हेरको अवस्थामा रहेको बुझिएको छ ।

जेष्ठ महिनाको झण्डै अन्ततिर आइपुग्दा र असार महिनाको नजिकै पुग्दा कारोबारमा क्रमशः सुधार देखिनु सुखद क्षणको रुपमा लगानीकर्ताहरुको बुझाइ रहेको छ । खासगरी आषाढ र श्रावण महिना शेयर बजारको लागि बढ्ने समयको रुपमा विगतका इतिहासले पुष्ट्याई गरिरहँदा मौद्रिक नीतिको प्रतिक्षामा रहेका लगानीकर्ताहरु भने शेयर बजारलाई प्राण भरिदिने खालको विषयहरु समेटिएको र शेयर बजारको लागि तगारो बनेको शेयर धितो कर्जाको सिमा हट्ने तथा जोखिम भार पनि घट्ने आँकलनका साथ पर्ख र हेरको अवस्थामा रहेको बुझिएको छ । लामो समयदेखि लगानीमैत्री नीति नियम बनोस् र बढ्दो आपूर्ति खपत हुने खालको संयन्त्रको विकास होस् भन्ने लगानीकर्ताहरुले चाहिरहेका छन् ।

यस हप्ता पनि फ्लोटेड शेयर कम भएका अर्थात बजारमा शेयर आपूर्ति कम भएका कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण रहन गयो । यसको पुष्टीको लागि हप्ताको पहिलो दिन कारोबार भई सकारात्मक सर्किट लागेका कम्पनीहरु ईष्टर्न हाइड्रोपावर कम्पनी, शुभम् पावर कम्पनी लिमिटेड, सिटी होटेल लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रोपावर लि., भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लि., समलिंग पावर कम्पनी लि. कम्पनीहरुको बजारमा कारोबारयोग्य शेयर संख्या न्यून रहेको छ ।
यस दिन बुद्धभुमी नेपाल हाइड्रोपावर लि. को शेयरमा नकारात्मक सर्किट लाग्यो भने भ्योल्युममा सबैभन्दा धेरै संख्यामा कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभेलपमेन्ट लिमिटेडको रह्यो ।

वर्तमान अवस्थामा अर्थतन्त्र त्यति चलायमान भइ नरहेको अवस्थामा अर्थतन्त्रलाई चलायमान हुने गरी मौद्रिक नीति आवोस् भन्ने नेपाल सरकारले पनि अपेक्षा गरेको छ । हालका राष्ट्र बैंकका गभर्नर श्री महाप्रसाद अधिकारीको आगामी आ.ब को लागि प्रस्तुत गर्ने मौद्रिक नीति अन्तिम मौद्रिक नीति हुने हुँदा र सार्वजनिक फोरमहरुमा पनि लचिलो आर्थिक नीतिको पक्षमा गभर्नरको अभिव्यक्ति आइरहँदा यस पटक केहि सुधार सहितको बजारमैत्री मौद्रिक नीति आउनेछ भन्ने आम लगानीकर्ताहरुको अपेक्षा छ । यस अर्थमा हालसम्म बजारमैत्री कुनै कंक्रिट कुरा बाहिर आइ नसकेको कारणले ठूला लगानीकर्ताहरु भने अझै बजारमा पसिसकेका छैनन् भन्ने नै बुझिन्छ । यसै कारण बजार बढ्ने मौसममा पनि साइडवेजको रुपमा बजार चलेको हुन सक्ने बजार विश्लेषकको धारणा छ ।

प्राविधिक रुपमा बजार मध्य बोलिंगर ब्याण्डलाई टेष्ट गर्न आइरहेको देखिन्छ । आरएसआइ ५० भन्दा माथि नै रहेकोले र केहि दिन देखि बजार साइडवेजमा चलिरहेकोले बजार विश्लेषकहरु नेप्से २०६० भन्दा तल नआउने बताउँछन् ।
यस सम्वन्धि नेप्सेको क्याण्डलिष्टिक चार्ट अध्ययनको लागि यहाँ प्रस्तुत गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *