इतिहासमा एउटा भनाई ज्यादै प्रचलित छ कि रोम शहर जलिरहँदा त्यसै देशका कुख्यात सम्राट नेरो बेला बजाएर रमाइरहेका थिए किनकी उनी चाहन्थे शहर आगोले पुरै ध्वस्त भएपछि फेरी एउटा नयाँ दरबार बनाउन पाइन्छ । अहिले झण्डै झण्डै त्यस्तै परिदृष्य नेपाली शेयर बजारमा देखा परेको छ । शेयर बजार जटिल अवस्थामा पुगेको छ यस्तो विषम परिस्थितिमा लामो समयदेखि न त शेयर बजारको नियामक निकाय धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा पूर्ण कार्यकालको लागि अध्यक्ष पद पुर्ति गरिएको छ न त सरकारले यस विषम परिस्थितिमा गुज्रिरहेका तमाम लगानीकर्ताहरुलाई उकास्ने कुनै ठोस निर्णय गर्न सकेको छ ।
शेयर बजारलाई उकास्ने अनगिन्ती बाटाहरु हुँदाहुँदै पनि यस प्रति सरकार उदासिन हुनु कतै घरमा आगो लाग्दा त्यहि आगो तापेर बस्नु जस्तै भएन र ?
विषम परिस्थितिमा नेपाली शेयर बजारः
एकातिर अहिलेको विषम परिस्थितिमा सरकारको विकास खर्च भन्दा बढी वित्तीय व्यवस्थापनको खर्च छ । सरकारको राजस्वबाट उठ्ने आम्दानी भन्दा बढी साधारण खर्च छ । यस्तो अवस्थामा शेयर बजारलाई सरकारले उद्योग सरह मान्यता दिदैं बजार उकास्ने अनगिन्ती उपायहरुलाई एक एक गरेर लागू गर्दै सबैभन्दा सजिलो तरिकाबाट राजस्व उठाउने विधि अपनाउन किन सकिरहेको छैन ? बरु त्यसको विपरित सरोकार निकायमा बस्ने व्यक्तिहरु नै यति संकिर्ण सोच राखेर शेयर बजार बढेमा देश नै कुनै ठूलो दुर्घटनामा पर्दछ कि भन्ने सोच्दछन् ? नेपाली शेयर बजारको इतिहासमा यस्तै यस्तै कार्यहरु मात्र भैरहेका छन्।
नेपाली शेयर बजारमा आउने अस्थिर नीतिः
नेपाली शेयर बजारमा एनआरएनको लगानी भित्राउने भन्ने कथा धेरै पुरानो भैसक्यो तैपनि नीति नियममा खुकुलो बनाइएको छैन । बजारलाई नोक्सान पुर्याउने खालको नीति नियम भने यति छिटो परिवर्तन गरिन्छ कि यसमा न त सरोकार पक्षसँग कुनै राय सल्लाह सुझाब नै लिइन्छ न त स्थीर नीति नै बनाइन्छ । राष्ट्र बैंकले ल्याएको ४।१२ को क्यापको नीति, शेयर कर्जाको जोखिमभारमा परिवर्तनको नीति, धितोपत्र बोर्डबाट ५१ वटा कम्पनीको सूचि प्रकाशन गरि लगानीमा डर त्रास भित्राउने नीति आदि यिनै अस्थिर नीतिका उपजहरु हुन् भन्न सकिन्छ ।
शेयर बजारलाई अनुत्पादक क्षेत्रको संज्ञा दिने भए सरकारले कम्पनीहरुलाई आइपिओ (IPO) ल्याउन किन प्रोत्साहित गर्छ छ ?
सरकारको अहिलेसम्मको बुझाइमा शेयर बजार अनुत्पादक क्षेत्र हो भन्ने लागेको छ तर यदि शेयर बजार अनुत्पादक क्षेत्र हो भने किन सरकार र सरोकार निकायले कम्पनीहरुलाई आइपिओ निस्कासन गर्न अनुमति दिन्छ त ? एकातिर पूँजीबजार पुँजीको विकास गर्ने थलो रुपमा पनि लिइन्छ अर्कोतर्फ पूँजीबजारमा अनेकन लगाम लगाइन्छ भने अब कसरी पूँजीबजारको विकास हुन्छ त ? यदि प्राथमिक पूँजीबजार मात्र सरकारको प्राथमिकतामा हो र दोस्रो बजार आवश्यक छैन भन्ने ठानिन्छ भने सरकारबाट त्यस्तै किसिमको ठोस नीति ल्याएर पूँजीबजार बन्द गरिदिँदा आम लगानीकर्ता पासोमा पर्नबाट त बच्नेछन् । यस प्रति सरोकार निकायको ध्यान जानु आवश्यक देखिन्छ ।
विश्व शेयर बजारलाई आर्थिक ऐनाको रुपमा चित्रण गरिरहँदा नेपाली शेयर बजार उपेक्षितः
विश्वमा शेयर बजारलाई आर्थिक ऐनाको रुपमा चित्रण गरिदैं आएको अवस्था छ । आर्थिक विकासको मापन गर्ने सबैभन्दा भरपर्दो सूचकांक नै स्टक इन्डेक्स मानिन्छ तर ३ दशक भन्दा बढी इतिहास बोकेको नेपाली शेयर बजार भने सम्बद्ध सबै सरोकार निकाय र स्वयं सरकारको लागि सधैं उपेक्षित क्षेत्र किन बन्न पुग्यो, आश्चर्यको विषय बनेको छ ।
नेपाली शेयर बजार उकास्ने गुरुमन्त्रहरुः
वर्तमान परिप्रेक्ष्यमा सरकारले पूँजीबजारको अवरोधहरु हटाएर करको दायरा बढाउनु अपरिहार्य छ । यसको लागि सरकार र सरोकार निकायले पूँजीबजारलाई उद्योगको रुपमा स्थापित गर्नुपर्छ । सरकार संचालनको विधि प्रजातान्त्रिक मान्ने सरकारले संस्थागत र व्यक्तिगत शेयर कर्जाको सिमा हटाएर क्षमता अनुसार राष्ट्रलाई कर तिरेर कारोबार गर्न चाहनेहरुलाई अवसर प्रदान गर्नुपर्दछ । शेयर बजारमा नयाँ नयाँ अन्तराष्ट्रिय स्तरमा धेरै अघिदेखि परिचालित औजारहरु सर्ट सेलिङ, अक्सन मार्केट, डेरिभेटिभ मार्केट, इन्ट्राडे लगायतका सबै सुविधा तत्काल सुचारु गर्नुपर्दछ । इम्पोर्टमा आधारित हाम्रो देशको राजस्वलाई विविधिकरण गरी शेयर बजारका अनेकन औजारबाट कुस्त र मस्त आयश्रोत बटुल्ने मौकाको उपयोग गर्नुपर्दछ । दक्षिण यसियाली देशहरुमा जुन प्रकारले करलाई न्यूनिकरण गर्दै वा कम गर्दै करको दायरा फराकिलो पारेर श्रोत परिचालन नीति लागू गरिदैं आएको छ त्यसरी नै नेपालले पनि करलाई बृद्धि गरेर हैन दायरा फराकिलो पारेर श्रोत जुटाउने नीति अपनाउनु पर्दछ । सरकारमा जो जो व्यक्ति आउँदा जुन प्रकारले आश्वासन दिने परिपाटी छ त्यसलाई कुरामा हैन काममा देखिने गरि तत्काल एक्सन ओरियन्टेड भएर नतिजा देखाउनु पर्दछ । यसरी लगानीकर्ताहरुलाई कन्फिडेन्टमा लिन सकिन्छ ।
हाम्रो हैन राम्रो मान्छे आउनु पर्योः
राम्रो मान्छे हैन हाम्रो मान्छे आउनु पर्यो भन्ने मानसिकताबाट सरकारमा बसेका जिम्मेवार व्यक्तिहरु गुज्रिरहेको भान हुने गरि काम भैरहेको आम मानिसले महसूस गर्न वाध्य भएका छन् । ६ । ६ महिनासम्म धितोपत्र बोर्ड जस्तो एपेक्स तहमा पद रिक्त रहनु पनि एउटा लाजमर्दो अवस्था हो । यदि यस्तै अवस्था कायम रहेमा कसरी सक्षम र नेतृत्वदायी व्यक्तिहरुलाई राज्यले होल्ड गर्न सक्छ त ।
नेपाली शेयर बजार कसरी सर्वसाधारण बहुसंख्यक लगानीकर्ताहरुको लागि पासो बनिरहेको छ त ?
नेपाली शेयर बजार एकातिर वान वे छ अर्थात समग्र बजार बढ्दा मात्र लगानीकर्ताहरुले नाफा कमाउन सक्ने अवस्था छ भने अर्को तर्फ सप्लाई डोमिनेटेड बजार छ । यहाँ जति पनि आइपिओ, राइट शेयर र बोनस शेयर जारी गर्न दिने नीति विद्यमान छ भने तिनलाई पचाउने वा सप्लाई कन्ज्युम गर्ने खालको मेकानिज्म छैन । बजारलाई टु वे बनाउने र बजार घट्दा पनि कमाउन सक्ने खालको सर्ट सेलिङ जस्तो औजार प्रयोग गर्न बन्देज छ । बजारलाई विविधिकरण गर्ने र चलायमान गर्ने खालको डेरिभेटिभ मार्केट, अक्सन, फ्यूचर्स संचालनमा छैन भने मार्जिन लेण्डिङको कारोबार सहजरुपले लगानीकर्ताले प्रयोग गर्न पाउने अवसर प्रदान गरिएको छैन । झनै त्यस माथि क्षमता र उच्च व्यवस्थापन भएका संस्थागत र व्यक्तिगत लगानीकर्ताहरुलाई पूर्ण रुपमा लगानी गर्न दिनुको साटो क्याप लगाएर निरुत्साहित पारिएको छ । बरु थोरै मात्र बजार बढ्दा पनि नियामक निकायको अनावश्यक हस्तक्षेप पैदा हुने तर बजार जतिसुकै घट्दा पनि बजारलाई संबोधन हुने खालको ठोस नीति वा निर्णय कहिल्यै नआउने कारण के बजार बहुसंख्यक लगानीकर्ताहरुको लागि पासो त बनिरहेको छैन ? आम चासोको विषय बनेको छ ।
नेपाली शेयर बजारको कहालिलाग्दो अवस्था :
अहिले बजारमा तरला बढ्दा र व्याजदर घटिरहँदा पनि समग्र शेयर बजार बढ्न सकेको छैन । केहि सिमित समूहका केहि सिमित कम्पनीहरुमा मात्र सिमित लगानीकर्ताहरुले खेलिरहेको अवस्था छ । नेपाली शेयर बजार १८०० भन्दा माथि पुगेर जुन करेक्सन आयो अर्थात इन्डेक्स केहि समयसम्म ११०० को आसपास घुमिरह्यो त्यतिबेलाको समयमा नेप्सेमा सूचिकृत बैंकहरुमद्दे दुइतिन वटा वाणिज्य बैंकहरुको मूल्य मात्र २०० भन्दा तल झरेको थियो । अहिलेको समयमा नेप्से इन्डेक्स २००० भन्दा माथि घुमिरहँदा झण्डै १० वटा भन्दा बढी वाणिज्य बैंकहरुको शेयर मूल्य २०० भन्दा तल रहेको छ । त्यसले पनि नेपाली शेयर बजारको अहिलेको अवस्था दयनीय छ र नेप्से २९२ इन्डेक्सको अवस्थामा हुँदा भन्दा पनि अझ डरलाग्दो अवस्थामा छ भनेर जानकारहरु बताउने गर्दछन् ।
नेपाली शेयर लगानीकर्ताहरुले के गर्ने छ ?
शेयर बजारमा ९० प्रतिशत भन्दा बढी ट्रेडरहरुले गुमाउँछन् भन्ने कहावत नै छ । खासगरेर कमाउनेको लगानी मन्त्र र गुमाउनेको लगानी तरिका विपरित हुनु नै यस्को कारण हो । यस्तो विषम परिस्थितिमा हल्लाको पछि लागेर झनै कमजोर धरातल भएका र अध्ययन विनाका कम्पनीमा लगानी गर्नु जोखिम त छदैंछ तर आफुसँग भएका कतिपय राम्रा कम्पनीहरुको शेयर समेत डराएर बेच्न पुग्दा हार मानसिकता हाबी हुन्छ र शेयर बजारबाट पलायन हुनुपर्ने अवस्था सिर्जना हुन्छ । तपाईको नजरमा कुनै कम्पनी पत्रु लाग्दैछ तथापि दिनका दिन मूल्य उचालिदैंछ तर तपाईलाई त्यस कम्पनीमा लगानी गरेर समयमै उम्कन सक्दिन भन्ने लाग्छ भने त्यस कम्पनीमा लगानी नगर्नु नै उत्तम हुन्छ । प्रफिट बुक पनि गर्न नसक्ने र स्टप लस पनि गर्न नसक्ने मानसिकता रहेसम्म शेयर बजारबाट कमाउन सकिन्न नै । बजार आफुले सोचे जस्तो भएन र आफुले किनेको शेयर झन् झन् घट्न थाल्यो भने घरमा आगो लाग्दा आगो तापेर बस्नुको सट्टा निभाउन लाग्नु परे जस्तै बजारबाट बाहिर जानु नै उपयुक्त हुन्छ तर यस्तो मानसिकता पनि सधैं उत्तम हुँदैन किनकी तपाई कस्तो कम्पनीमा लगानी गर्दै हुनुहुन्छ त्यसमा भर पर्दछ । हामी चनाखो त हुनैपर्छ र हामीसँग भएका धेरै राम्रा कम्पनीहरुलाई फुत्किन पनि दिनुहुन्न । सगँसगैं लामो समयको लागि नभै ट्रेडिङको लागि शेयर किन्नु भएको छ भने समयमै एक्जिट पनि गर्न सक्नुपर्दछ ।
धोविलाई हतार भयो भनेर जसरी बेलुका घाम लाग्दैन त्यसरी नै शेयर बजारमा ठूला ठूला इन्भेष्टर, एक्युमुलेटर वा स्मार्ट मनिहरुले सकभर आफ्नो झोला नभरी हतार हतार शेयरको मूल्य उकास्दैनन् । यो कुरा बुझ्नु जरुरी छ । त्यसैले आफुसँग भएका कम्पनीहरुको शेयर किन्ने वित्तिकै बढेन भनेर आत्तिनु हुँदैन । समय आएपछि बढ्छ । तर बेच्ने बेला आउँदा त्यस्ता बिग मनी वा इन्भेष्टरहरुले तपाइलाई सुइंको नै नदिई बेचिसक्छन् । हो यस्तो बेला आयो आएन भनेर विभिन्न प्राविधिक पक्षहरुको विश्लेषण गर्न चुक्नु हुँदैन अन्यथा हात्ति आयो हात्ति आयो फुस्सा भनेझैं हुन्छ । पेपरमा भएको नाफा हावाको एक झोक्काले हावा मै उडाइ दिन्छ ।