“अबकी बार, ४०० पार” भन्ने भाजपाको नारासगैं सुरु भएको भारतको १८ औं लोकसभा चुनावको सार्वजनिक भएको मतपरिमाणले हिजो मंगलबारको भारतीय शेयर बजारमा ठूलो गिरावट आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुइ तिहाई जीतको ठूलो सपनासगैं थप आक्रामक आर्थिक सुधार गर्ने जुन लक्ष बोकेर चुनावी मैदानमा उत्रिएका थिए त्यसमा पछिल्लो चुनावी नतिजाले धक्का लाग्न पुगेको छ जसको प्रत्यक्ष असर मंगलबारको भारतीय शेयर बजारमा देखा पर्यो । प्राप्त पछिल्लो चुनावी परिणाम अनुसार ५४३ सीटमद्दे भारतीय जनता पार्टी अर्थात भाजपा नेतृत्वको नेशनल डेमोक्रेटिक अलाइस (एनडिए) ले २९२ सिटमा विजयी भएको समाचार प्राप्त भएको छ भने कांग्रेस नेतृत्वको इण्डियाले २३३ सिटमा जित प्राप्त गरेको छ । अघिल्लो चुनावमा भाजपा एक्लैले झण्डै २ तिहाई सिट जितेको अवस्थामा यस पटक गठबन्धनका दलहरु समेत मिलाउँदा पनि २ तिहाई नपुग्ने देखिएको छ भने गठबन्धन बाहेक भाजपा एक्लैले सरकार बनाउन समेत नसक्ने अवस्था सिर्जना भएको छ ।

के कति गिरावट आयो ?
चुनावी मत परिमाणको प्रारम्भिक नतिजा आउन थाल्ने वित्तिकै भारतको बेन्चमार्क सेनसेक्स सूचकांक (SENSEX) तथा निफ्टी ५० (Nifty 50) सूचकांकमा ठूलो गिरावट आयो । २४ घण्टा भित्रमा यति ठूलो गिरावट आएको सन् २०२० मार्च २३ पछि कै ऐतिहासिक रेकर्ड भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । भारतीय स्टक सूचकांक (सेन्सेक्स) मंगलबार एकैदिन झण्डै ६ प्रतिशत अर्थात ४३८९.७३ अंकले घटेर ७२०७९ अंकमा सिमित हुन पुग्यो भने नेशनल स्टक एक्सचेन्ज (निफ्टी) पनि ५.९३ प्रतिशत अर्थात १३७९.४० अंकले घटेर २१८८४.५० अंकमा समेटियो । भारतीय शेयर लगानीकर्ताले एकैदिन झण्डै ४० लाख करोड रुपैयाँ गुमाएको यो नै एकैदिन गुमाएको रकममा सबैभन्दा बढी रकम मानिएको छ । कोरोनाकालमा पनि भारतीय शेयर बजारमा ५.९४ प्रतिशतको गिरावट आएको थियो । हिजो मंगलबार भारतीय शेयर बजारमा एनटीपीसी (NTPC) को शेयर १५ प्रतिशत भन्दा धेरै र एसबीआइको शेयर १४ प्रतिशत भन्दा धेरैले घटेको छ । यस दिनको कारोवारमा रिलायन्स कम्पनी देखि टाटासम्मका सबै कम्पनीहरुको मूल्यमा अत्यधिक गिरावट आएको छ ।

BSE SENSEX

विश्वको सबैभन्दा ठूलो निर्वाचनको रुपमा लिइने गत शनिवार सम्पन्न भारतीय लोकसभाको चुनावी नतिजाको सन्दर्भमा भारतीय विज्ञहरुको एक्जिट पोलहरुले जुन भविष्यवाणी गरेका थिए त्यसमा ठूलो धक्का महसूस हुन पुग्नु नै भारतीय शेयर बजारमा ठूलो गिरावट आउनुको कारण मानिएको छ । त्यस बाहेक मोदीले जुन प्रकारको कम्तीमा पनि ६ प्रतिशत आर्थिक बृद्धिका साथ आर्थिक सुधारको घोषणा गरेका थिए तिनमा पनि धक्का लाग्न सक्दछ । मोदीले १८ औं लोकसभा चुनावको जीतसगैं भारतलाई विश्वको ठूला अर्थतन्त्र भएका देशहरु संयुक्त राज्य अमेरिका र चीनभन्दा पछाडि तेस्रो नम्बरमा पुर्याउने लक्ष राखेका थिए ।
मोदी सरकारको विगतको कार्यकालमा पनि शेयर बजारले राम्रो प्रदर्शन गरेको थियो । गतवर्ष भारतको नेशनल स्टक एक्सचेन्ज (एनएसइ) ले सेन्जेन स्टक एक्सचेन्ज र हङकङ स्टक एक्सचेन्ज दुबैलाई उछिनेर विश्वको छैंठौ ठूलो शेयर बजार बनेको थियो जसलाई विश्व फेडेरेशन अफ एक्सचेन्जको तथ्यांकले पुष्टी गर्दछ ।

Nifty 50

Leave a Reply

Your email address will not be published. Required fields are marked *