भारतीय शेयर बजारको ईतिहासलाई सम्झनुपर्दा सन् १८७५ लाई स्मरण गर्नुपर्दछ । भारतको पहिलो शेयर ट्रेडिङ्ग एसोसिएसनको नाम नेटिभ शेयर एण्ड स्टक ब्रोकर एसोसिएसन (Native share and stock brokers association) हो जुन पछि गएर बम्बे स्टक एक्सचेन्ज (Bombay stock exchange) BSE मा परिणत गरिएको थियो । तत्कालिन अवस्थामा शेयर बजारको कारोबार गर्नको लागि बरगदको रुखमुनि वा कफी हाउसहरुमा दलालहरुले मानिसहरुलाई शेयर बजार सम्वन्धि जानकारी आदानप्रदान गर्न भेला गर्दथे । त्यहिं बसेर कंपनीहरुको शेयरमा सौदाबाजी गर्दथे र सम्झौत गर्दथे ।
जब भारत ब्रिटिश शासनबाट १९४७ मा स्वतन्त्र भयो त्यस पश्चात भारतले आर्थिक चुनौतिहरु सामना गर्न विभिन्न निर्णयहरु क्रमशः गर्दै गयो । भारतमा क्यापिटल इश्युज कन्ट्रोल एक्ट (Capital issue control act 1947) को स्थापना पश्चात पुँजीगत मुद्दाहरुलाई नियमन गर्न सघाउ पुग्यो र शेयर बजारलाई निष्पक्ष रुपमा विकास गर्ने बाटो खुल्यो ।
सन् १८७५ मा बम्बे स्टक एक्सचेन्ज (BSE) को स्थापना पश्चात एशियाकै सबैभन्दा पुरानो स्टक एक्सचेन्जको रुपमा काम गर्ने मौका पायो । सरकारी स्तरबाट सन् १९९४ मा नेशनल स्टक एक्सचेन्ज (National Stock Exchange of India Ltd , NSE) को स्थापना भए पछि शेयर बजारले ठूलै फड्को मा–यो ।
भारतमा सन् १९८८ एप्रिल १२ मा धितोपत्र तथा विनिमय बोर्ड अफ इन्डिया (सेबी) Securities and Exchange Board of India को स्थापना भयो । सो को स्थापना पश्चात शेयर बजारमा पारदर्शिता सुनिश्चित हुनुको साथै लगानीकर्ताको हित संरक्षण र धितोपत्र बजारसँग सम्बन्धित विभिन्न पक्षहरुलाई कडा नियमन गरेर लगानीकर्ताहरुको विश्वासलाई अझ बलियो बनायो ।
भारतीय शेयर बजारले एक लामो यात्रा पुरा गरिसक्दा अहिले प्रविधिमा भएको प्रगतिका कारण स्वदेशी तथा विदेशी लगानीकर्ताहरुको बढ्दो सहभागितासँगै भारतकै अर्थतन्त्रको अभिन्न अंग बनिसकेको छ ।
भारतीय शेयर बजारले विश्वव्यापी राजनीतिक घटनाहरुको राम्ररी सामना गरेको छ । देश भित्र आइपरेका विभिन्न वित्तिय संकटहरुको साथसाथै शेयर बजार घोटाला काण्डहरु पनि भारतीय शेयर बजारले सामना गरेको छ । सन् १९९२ को सबैभन्दा चर्चित हर्षद मेहता घोटाला काण्ड पनि भारतीय शेयर बजारले सामना गरेको छ । त्यस्तै सन् २००८ मा लेहमन ब्रदर्सको पतनका कारण भारतीय शेयर बजारले विश्वव्यापी वित्तीय संकटको सामना गर्नु पर्यो ।
बजारमा विभिन्न चुनौतिहरुको बावजुद पनि भारतीय शेयर बजार भित्र अपार अवसरहरु पनि छन् । ब्लू चिप स्टकहरु देखि उदीयमान क्षेत्रहरुमा लगानीकर्ताहरुको लागि लगानी विकल्पहरुको अवसर पनि पाइरहेका छन् ।
सन् २००० मा नेशनल स्टक एक्सचेन्ज पूर्ण Online Trading प्रणालीमा आवद्ध भएर नवीन अभ्यासहरु शुरु गरे पश्चात बम्बे स्टकएक्सचेन्जको एक बलियो प्रतिस्पर्धीको रुपमा उभियो । यसबाट भारतीय शेयर बजार थप प्रविधिमैत्री र सुविधा सम्पन्न हुन पुग्यो ।
सन २०१४ मा सेबीले शेयर बजार विकास र विस्तार सम्वन्धि थप नीति लागू गरे पश्चात भारतीय शेयर बजारले थप उचाई हासिल गर्यो ।
भारतमा इमर्जिङ मार्केट्स इन्डेक्स MSCI Emerging Markets Index जस्ता ग्लोबल इन्डेक्सहरु लागू गरे पश्चात स्वदेशीहरुलाई मात्र हैन विदेशीहरुलाई पनि भारतीय शेयर बजारमा आकर्षण गरिरहेको छ । डिजिटल प्लेटफर्महरु र मोबाइल Trading एपहरुले स्टक व्यापारलाई सरल र पारदर्शिता प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ । त्यस्तै भारतीय लगानीकर्ताहरु बाहेक विदेशी लगानीकर्ताहरुको लागि सहज नियमहरु बनिरहेका कारण अन्तराष्ट्रिय सहभागिता बढ्दोक्रममा छ ।