अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल नियुक्ति हुने चर्चासगैं बढिरहेको नेप्से र समग्र शेयर बजार सोमबार मुलुकले आठौं पटक विष्णुप्रसाद पौडेललाई अर्थमन्त्रीको रुपमा पाएकै दिन शेयर बजार घट्यो । यस दिन नेप्सेमा १७.१८ अंक घटेर २२४०.४१ अंकमा बन्द भयो । हाइड्रोपावर, उत्पादन तथा प्रशोधन र इन्भेष्टमेन्ट समूह बाहेक सबै समूह राताम्मे भए । सबैभन्दा बढी गिरावट विकास बैंक समूहमा १.८८ प्रतिशत भयो भने सबैभन्दा बृद्धि इन्भेष्टमेन्ट समूहमा १.७० प्रतिशत हुन पुग्यो ।

शेयर बजारको लागि सबैभन्दा बढी रुचाइएका व्यक्तिको रुपमा लिइने नाम विष्णुप्रसाद पौडेल अर्थमन्त्री भएकै दिन शेयर बजार किन घट्यो भन्ने सवालमा लगानीकर्ताहरुको आ–आफ्नै तर्कहरु रहेका छन् । अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका विष्णुप्रसाद पौडेलले सेयर बजारमा देखिएका समस्याहरुलाई कसरी सम्बोधन गर्छन् र कस्तो कदम चाल्छन् भन्ने कुरा शेयर बजारले हेर्न चाहेकोले नै पहिलो दिन शेयर बजार सकारात्मक हुन नसकेको एकथरी लगानीकर्ताहरुको बुझाइ रहेको छ ।
अर्का थरी लगानीकर्ताहरु भने यस कुरालाई मान्न तयार देखिएनन् । उनीहरुको बुझाईमा अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल नियुक्ति हुने चर्चासगैं बजार एक तहमा बढिसकेको र असार मसान्तको हरहिसाब मिलाउनको लागि आर्थिक वर्षको अन्तिम दिनमा ठूला लगानीकर्ताहरुले से लिंग दिएकोले बजार घटेको हो । नाफा बुक गर्न चाहने सर्ट टर्म कारोबारीहरुले पनि एक तहको नाफा बुक गर्दा बजार घटेको ठोकुवा गर्दछन् ।

अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल नियुक्ति हुने वित्तिकै शेयर बजारलाई अर्थतन्त्रको ऐनाको रुपमा चित्रण गरेका वर्तमान अर्थमन्त्रीले आगामी दिनमा शेयर बजार सुधारको लागि केहि न केहि बोल्ड निर्णय गर्छन भन्ने कतिपय लगानीकर्ताहरुको विश्वास रहेको बताउँछन् ।

आर्थिक सूचकहरु सकारात्मक बन्दै गएको, बैंकमा प्रचुर मात्रामा तरलता थन्किएको, ब्याजदर हरेक महिना घट्दै गएको र आगामी मौद्रिक नीतिमा लचकता अपनाउने गभर्नरले संकेत दिएका कारण पनि बजारले नयाँ उचाई लिने कुरामा लगानीकर्ताहरु ढुक्क देखिन्छन् ।

भर्खरै समाप्त हुन गइरहेको आर्थिक वर्षमा बाह्य क्षेत्रमा केहि सुधार भए पनि आन्तरिक क्षेत्र सुस्त नै रहेको, बाह्य क्षेत्र सुधारमा सरकारको खासै योगदान नरहेको कुरा रोजगारीमा विदेशिएका युवाले पठाएको रेमिट्यान्समा भएको बृद्धिले प्रष्ट पार्छ नै । विगतमा भएका अर्थमन्त्रीहरूले आन्तरिक क्षेत्र सुधारको लागि खासै केहि नगरी सिंहदरबारमा फोटो टाँस्ने कार्यमा मात्र सिमित भएको अवस्थामा भर्खरै नियुक्त हुनु भएका अर्थमन्त्रीले आन्तरिक अर्थतन्त्र चलायमान गराउने, धितोपत्र बोर्डलाई सक्षम र राजनीतिक हस्तक्षेपको अखडा बनाउने वर्तमान कृयाकलापबाट कसरी उन्मुक्ति दिन्छन् त्यसैमा आगामी शेयर बजारको भविष्य गाँसिएको कुरा एकथरी लगानीकर्ताहरुको बुझाई छ । अर्थमन्त्रालयलाई राजनीतिक दलका कार्यकर्ता र बिचौलिया हरुले घेर्ने परिपाटीमा सुधार गर्न सके र राष्ट्र बैंकले प्रकाशन गर्न लागेको मौद्रिक नीतिलाई वित्त नीतिसँग जोड्ने सेतुको रुपमा आफुलाई खरो उतार्न सके आगामी दिनमा सबल र सक्षम अर्थतन्त्रको सुरुवात भएको देख्न सकिन्छ ।

यस अघिका दिनमा जति अर्थमन्त्रीहरू आए पूँजी बजार प्रति केहि गर्छु भन्ने भाषण बाजी गर्ने, काम नगर्ने परिपाटी हावी भैरहेको अवस्थामा पूँजी बजार अभिभावक विहीन बन्न पुगेको लगानीकर्ताहरुमा महसुस रहेको छ । लगानीकर्ताहरु पनि राष्ट्र बैंकको मौद्रिक नीतिको चेपुवामा परेका अवस्थामा पौडेलको आगमनसँगै विद्यमान मौद्रिक नीतिमा भएका कमि कमजोरीहरु हट्ने र शेयर कर्जामा लगाएको क्याप तथा जोखिम भार हट्ने कुरामा लगानीकर्ताहरुको आश पलाएको छ । अब राष्ट्र बैंक र अर्थमन्त्रालय बीच ट्यूनिङ मिल्ने लगानीकर्ताको बुझाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *