(History of Security board of Nepal & Nepal Stock Exchange)

नेपालमा शेयर सम्वन्धी कारोवारको ऐतिहासिक पृष्ठभूमीको खोजतलास गर्दा सर्वप्रथम विराटनगर जुट मिल (प्रधानमन्त्री जुध्दशमसेर राणाको पालामा सन् १९३६ मा स्थापना भएको नेपालकै सबैभन्दा पुरानो र ठूलोे उद्योग) र नेपाल बैंक लिमिटेड (तत्कालिन राजा त्रिभुवन सरकारको पालामा सन् १९३७ नेभेम्वर १५ मा स्थापित पहिलो बैंक) को शेयर कारोवारबाट सुरु हुन्छ ।

Biratnagar Jute Mill

यि दुबै कम्पनीहरुले नेपालमा सर्वप्रथम सन् १९३९ मा शेयर निस्कासन गरेका थिए । नेपालमा सेक्युरिटीज कम्पनीको स्थापना पूर्व थोरै मात्र कंपनीहरुले सर्व साधारणको लागि शेयर निस्कासन गरेको पाइन्छ । त्यसको झण्डै २४ बर्ष पछि अर्थात सन् १९६३ मा पहिलो पटक नेपालमा कंपनी ऐन आयो । त्यसको लगत्तै सन् १९६५ मा नेपालमा सरकारी ऋणपत्र पहिलो पटक निस्कासन गरियो । यसरी सन् १९६० देखि सन् १९७५ भित्र सरकारी ऋणपत्रको अलावा करीब ३६ वटा पब्लिक कंपनीहरुले सर्वधारणमा शेयर निस्कासन गरेको पाइन्छ ।

NEPAL BANK LIMITED

लामो समयको अन्तराल पछि शेयर बजारको विकास र विस्तारको लागि नेपालमा एक सेक्युरिटी एक्सचेन्ज सेन्टरको तत्काल स्थापना हुनुपर्छ भन्ने महसुस गरियो र यस सम्वन्धमा सरकारी तथा निजी क्षेत्रमा गहन बहस सुरु भयो । त्यस पछि सन् १९७३ मा सरकार र राष्ट्र बैंकको संयुक्त पहलमा कंपनी ऐन अनुसार सेक्युरिटी एक्सचेन्ज सेन्टरको स्थापना भयो । सुरु सुरुमा सेक्युरिटी एक्सचेन्ज सेन्टरलाई सिमित अधिकार मात्र थियो जसका कारण शेयर बजार विकास, विस्तार, नियमन तथा व्यवस्थापनमा समस्याहरु उत्पन्न हुन थाल्यो । सन् १९७६ देखि पुँजी बजारको सुधारको लागि नेपाल राष्ट्र बैंक र नेपाल औद्योगिक विकास संस्थानको संयुक्त लगानीमा संस्थागत रुपमा कंपनी ऐनको परिधिभित्र रही सेक्युरिटी एक्सचेन्ज सेन्टरको स्थापना एवं संचालन हुन थाल्यो ।

यस पछि क्रमशः सरकारको औद्योगिक नीतिमा समेत पुँजी बजारको विकास सम्वन्धी नीति समावेस हुन थाल्यो । पुँजी बजार सुधारको लागि आवश्यक ऐन, नियम र विनियमहरुको कमी महसुस गरी सन् १९९३ मा सेक्युरिटी एक्सचेन्ज सेन्टरलाई नेपाल स्टक एक्सचेन्जको रुपमा परिणत गरियो । सोहि वर्ष धितोपत्र वोर्ड नेपाल (SEBON) को समेत स्थापना गरियो । धितोपत्र बोर्डको स्थापना पश्चात नेपालमा पुँजी बजार विकास र सुधारको लागि आवश्यक नीति नियम एवं कानुन बनाउन सरकारलाई आवश्यक राय सल्लाह उपलब्ध गरायो जसका कारण नेपालमा शेयर सम्वन्धी कारोवारको क्रमशः विकास र विस्तार हुन पुग्यो ।

नेपाल स्टक एक्सचेन्जको परिचय :

(Nepal Stock Exchange) :

NEPSE

नेपालमा धितोपत्र बोर्डको स्थापना संगसगैं पुँजी बजारको थप विकास र विस्तार गर्ने उद्येश्यले सेक्युरिटी एक्सचेन्ज सेन्टरलाई सन् १९९३ मा नेपाल स्टक एक्सचेन्जमा परिणत गरियो । सेक्युरिटी एक्सचेन्ज ऐन १९८३ को अधिनमा रहेर नेपाल स्टक एक्सचेन्जको (नेप्से) पहिलो कारोवार १९९४ को जनवरी १३ बाट सुरु भयो । नेपालमा शेयर कारोवार गर्ने आधिकारीक निकाय भनेको अहिलेसम्म नेप्से मात्र हो । नेपाल स्टक एक्सचेन्जको माथिल्लो तह भनेको यस्को बोर्ड हो जसमा नेपाल सरकारबाट मनोनित सदस्यहरुको अलावा नेपाल राष्ट्र बैंक सहितका सरोकार निकायका मनोनित सदस्यहरु हुन्छन् । नेप्सेको स्थापना पश्चात नेपालमा सर्वसाधारणलाई शेयर निस्कासन गर्ने कंपनीहरुको संख्या क्रमशः बृद्धि हुंदै गएको छ ।

धितोपत्र बोर्ड (SEBON) को परिचयः

(Security Board of Nepal):

SEBON

धितोपत्र बोर्ड (SEBON) को स्थापना सन् १९९३ जुन ७ मा भएको थियो जुन धितोपत्र बजारको सबैभन्दा माथिल्लो आधिकारीक निकाय हो । सेबोनले धितोपत्र ऐन २००६ र त्यस पछिको संसोधन ऐनको परिधिभित्र रहि बजारको नियमन गर्ने गर्दछ । शेयर बजारसँग सम्वन्धित सबै प्रकारको नियमनहरु गर्नुको साथै गलत कार्य गर्ने जो कोहि लाई कानुनी कार्वाही समेत गर्ने अधिकार सेवोनलाई छ । यसको बोर्डमा सरकारबाट मनोनित पूर्णकालिन अध्यक्ष सहित विभिन्न सरोकार निकायहरुबाट मनोनित सदस्यहरु रहन्छन् । सरकारबाट प्राप्त अनुदान, कारोबार शुल्कबाट प्राप्त कमिसन र दर्ता शुल्क नै सेवोनको आर्थिक श्रोतहरु हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *